झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित हुने चर्चा विरोधीहरूको “सपना र कल्पना” मात्र भएको बताएका छन् ।
बिहीबार झापा क्षेत्र नम्बर–५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगको सम्भावित प्रतिस्पर्धाबारे उठेको प्रश्नलाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिए।
एक सञ्चारकर्मीले 'बालेनले २० हजार मतान्तरले हराउँदै हुनुहुन्छ रे नि?' भनी राखेको जिज्ञासामा ओलीले भने, 'देखिएको भए सपना हो, नदेखिएको भए कल्पना हो।' उनले यस्ता चर्चा वास्तविकताभन्दा बढी राजनीतिक हल्ला र प्रचारको अंश भएको संकेत गरे।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्षसमेत रहेका ओलीले बजारमा सार्वजनिक गरिएका विभिन्न सर्वेक्षणप्रति अविश्वास व्यक्त गर्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। 'कुन सर्भेले भन्यो हार्छु भनेर?' उनले प्रतिप्रश्न गरे।
उनले उल्टै आफूले नै भारी मतान्तरले जित्ने जिकिर गर्दै भने, 'हामी २० देखि २५ हजारभन्दा बढी मतान्तरले जित्छौँ।'
ओलीको अभिव्यक्तिले झापा–५ मा चुनावी प्रतिस्पर्धा चर्किँदै गएको संकेत गरेको छ।