काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पर्यटक बोक्ने सवारीसाधन सञ्चालन गर्न पूर्वअनुमति अनिवार्य गरेको छ।
यही फागुन २१ गते हुने निर्वाचनका अवसरमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यटकको आवागमनमा असहजता नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगद्वारा जारी ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनको दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले विमानस्थल आवतजावत गर्ने पर्यटकका सवारीसाधनलाई सञ्चालन अनुमति दिने व्यवस्था गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट तथा काठमाडौं उपत्यकाभित्रका हकमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिएपछि मात्र पर्यटकका सवारीसाधन सञ्चालन गर्न पाइनेछ।
उनले राजमार्गमा चल्नुपर्ने सवारीसाधनको आवागमनलाई समेत व्यवस्थित र नियन्त्रित बनाउन कार्यविधिमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिए।
मतदानको दिन अत्यावश्यक सेवा, कूटनीतिक नियोग र मानव अधिकार आयोगका सवारीसाधनबाहेक अन्य कुनै पनि प्रकारका सवारीसाधन अनुमति लिएर मात्र सञ्चालन गर्न सकिनेछ। यस व्यवस्थाले निर्वाचनको दिन अनावश्यक भीडभाड, सुरक्षा जोखिम तथा अव्यवस्था न्यूनिकरण गर्न मद्दत पुग्ने आयोगको विश्वास छ।