काठमाडौं । पर्यटकको उद्धारका नाममा हुँदै आएको संगठित ठगी घटनाका मुख्य व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०ले विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहलाई मंगलबार पक्राउ गरेको हो।
सिंह सिम्रिक एयर र माउन्टेन एयरका पूर्व प्रबन्ध निर्देशक हुन्। सिम्रिक एयरमा कार्यरत रहेकै समयमा उनी विमान सेवा सञ्चालक संघको उपाध्यक्ष बनेका थिए।
सिआइबी स्रोतका अनुसार यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा पर्यटकको उद्धारको नाममा हुने ठगीमा उनी माष्टरमाइन्ड हुन्।
उनकै योजनामा यस्तो ठगी सुरु भएको हो। उनी विगतमा संलग्न हेलिकोप्टर कम्पनी पनि फेक रेस्क्युमा संलग्न भएको आशंकामा छानबिन सुरु भएको छ। अचम्म त के छ भने उनी उड्डयन क्षेत्र सुधार कार्यदलकै सदस्य हुन्।
हाल पर्यटनमन्त्री रहेका अनिल सिन्हाको संयोजकत्वमा गत वर्ष कात्तिकमा सरकारले नागरिक उड्डन क्षेत्र अध्ययन कार्यदल गठन गरेको थियो। जून समितिमा उड्डयन क्षेत्रको विज्ञको रुपमा उनलाई राखिएको थियो। उनी नै पर्यटन क्षेत्रलाई बदनाम गराउने व्यक्ति भएको खुलेको छ।
सिआइबीले उनीसहित रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यसअघि सिआइबीले यस प्रकरणमा सात जनालाई पक्राउ गरिसकेको छ।
माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई सिआइबीले पक्राउ गरिकसको छ। केही हेलिकोप्टर कमपनी र अस्पतालहरु पनि सिआइबीको छानबिनमा छन्।