Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिङमा भन्छन्–फेक रेस्क्युको छानबिन निचोडमा पुग्नुपर्छ, नत्र देशको प्रतिष्ठा मै आँच आउँछ

मिङमा भन्छन्–फेक रेस्क्युको छानबिन निचोडमा पुग्नुपर्छ, नत्र देशको प्रतिष्ठा मै आँच आउँछ

आइतवार , चैत्र २९, २०८२

काठमाडौं ।  सगरमाथा आरोहण गराउने कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले फेक रेस्क्यु प्रकरणको अनुसन्धान निचोडमा पुग्नुपर्ने बताएका छन् । 

फेक रेस्क्युका कारण नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमै बद्नाम भएका कारण यसको अनुसन्धान निचोडमा नपुग्ने हो भने नेपालको प्रतिष्ठामाथि नै आँच आउने उनको भनाइ छ । 

उनले पक्राउ परेका सबै जनाको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनपर्ने र अकुत सम्पत्ति देखिएमा राज्यद्वारा कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवार रहेका मिङमा शेर्पाकी श्रीमतीको नाम पनि फेक रेस्क्यु अनुसन्धान प्रकरणमा जोडिएको थियो । 

मिङमाले आफू उक्त अस्पतालसँग प्रत्यक्ष आबद्ध नभएको बताएका छन् । उनले श्रीमतीको नाममा शेयर भने रहेको, तर अस्पतालको कुनैपनि व्यवस्थापन समूहसँग प्रत्यक्ष आबद्ध भने नरहेको बताएका छन् । 

अनुसन्धानको क्रममा उक्त अस्पताल पनि दोषीको रुपमा देखिन्छ भने सरकारद्वारा उचित कारबाही हुनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले फेक रेक्यु प्रकरणको अनुसन्धान सकेर तीन साताअघि ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये १० जना पक्राउ परेका थिए, र सबैजना सामान्य धरौटीमा छुटिसकेका छन् । 

यति गम्भीर मुद्दाका आरोपीहरू यसरी सहजै छुट्नुका पछाडि अनुसन्धानमा प्रमाण कमजोर भएको आशंकाप्रति उनले प्रश्न उठाएका छन् । 

उनले थप भने–‘म त भन्छु सरकारले यो फाइल पुनः खोलोस् । फेरि शुरुबाट अनुसन्धान होस्, दोषी देखिए ममाथि पनि कारबाही होस् । निर्दोष फस्ने र दोषी उम्कने काम नहोस् र हामी जस्तो इमान्दार व्यवसायीमाथि बारम्बार यस्ता आक्षेप नलागोस् ।’

फेक रेस्क्यु प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउँदै मिङमाले अनलाइन नेपालसँग भने–‘यदि राज्यलाई त्यस्तो लाग्छ भने अनुसन्धान म बाटै शुरु गरियोस्, देशलाई नै बद्नाम गराउने यो कार्यको पर्दाफास हुनैपर्छ र दोषीमाथि कारबाही हुनैपर्छ ।’ 

सीआइबीले अनुसन्धान सकेर फाइल बुझाइसकेको अवस्थामा दोषीहरुमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुनपर्ने आवाज उठिरहेका छन् । मिङमा पनि दोषीहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनुपर्ने बताउँछन् । नत्र यो अवस्था फेरि बल्झिने उनको भनाइ छ ।

हाल, पर्यटन व्यवसाय नेपालको आर्थिक मेरुदण्ड जस्तै बनेको छ । नेपालमा सञ्चालित विभिन्न एक्सपीडिशन कम्पनीहरुमार्फत पदयात्रा बाहेक बर्षेनी करिव १० हजार विदेशी नागरिकहरु हिमाल आरोहण गर्न आउने गरेका छन् । जसले करोडौं डलर नेपालमा भित्र्याउन मद्दत गर्नुका साथै सरकारको राजस्वमा समेत सकारात्मक प्रभाव पार्ने गरेको छ । 

पछिल्लो समयमा पदयात्रा र ट्रेकिङमा भएको फेक रेस्क्युका नाममा सिधै हिमाल आरोही शेर्पा गाइडहरु माथि जुन आक्षेप लागेको छ, वास्तवमा यस्ता आक्षेपहरुले शेर्पा गाइडहरुलाई मात्र नभई सिंगो राष्ट्रलाई नै विश्व बजारमा नकरात्मक रुपमा असर पार्नेछ । 

विदेशी आरोहीहरुलाई सगरमाथाको चुचुरासम्म पुर्याउने जिम्मेवारी कुनै सानो जिम्मेवारी होइन, यस कार्यमा विदेशीको मात्र नभई शेर्पा स्वयमलाई पनि आफ्नो ज्यानको जोखिम हुन्छ । 

यस्तो जोखिम उठाउन हर कोही तत्पर हुन्नन् । र, सगरमाथा आरोहणको क्रममा ‘विदेशी आरोहीलाई विष खुवाएर बिरामी बनाई फेक रेस्क्यु गर्ने’ भन्ने जुन कुरा अहिले बाहिर आएको छ, त्यो झुठो किन पनि हो भने कुनै आरोही बिरामी पर्नु भनेको शेर्पाको निमित्त आफ्नो टाउकोमा थप जोखिम थपिनु हो । जसले गर्दा विदेशी सहित आफ्नो स्वयमको पनि ज्यान जाने जोखिम बढ्छ । 

मिङमाले हिमालको ८ हजार मिटरमाथि अनेकन कुराहरुको जोजिम खेपेर कुनै पनि आरोहीलाई समिटदेखि सकुशल आधारशिविरसम्म ल्याउने जिम्मेवारी उठाउने शेर्पाहरुलाई यस्तो लान्छना लागेको कुरामा दुःख व्यक्त गरेका छन् । 

यसतर्फ नेपाल सरकारको बेलैमा ध्यानाकर्षण हुन जरुरी रहेको उल्लेख गर्दै नेपाली पर्यटन व्यवसायमा थप क्षति हुनबाट बचाउन राज्यले कदम चाल्नु पर्ने मिङमा बताउँछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077