इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले उद्योग खोल्न नेतालाई चन्दा दिनुपर्ने अवस्था अन्त्य बताएका छन् ।
मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।
नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको बताउँदै उनले हाल नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्ने अवस्था रहेको टिप्पणी गरे ।
नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ । त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक शुरु हुन्छ, अब त्यो पर्दैन । त्यो पर्नेपरि व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीले ।’
पूर्वी तराईका चार जिल्लामा पूर्ण रूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने दाबी गर्दै बालेनले पूर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउनुपर्नेमा पनि जोड दिए।
उनले भने- 'पुर्वी तराईका ४ वटा जिल्लामा पूर्ण रुपमा धान उत्पादन गर्ने हो भने देशभरीलाई खान पुग्छ । तर विडम्बना यही खान पुगेको छैन । यो दुखलाई समाधान गर्नुपर्छ ।'