झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र रहेको दाबी गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा आयोजित नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले आगामी चुनावपछि देशको नेतृत्व एमालेले नै गर्ने बताएका हुन् ।
ओलीले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र विध्वंसका घटनाले लोकतन्त्र र राष्ट्रिय एकतामा क्षति पुर्याएको उल्लेख गरे।
'देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता बिथोलेर निर्वाचन जित्न सकिँदैन,' उनले भने, 'जनताको विश्वास र स्थिरताको आधारमा मात्र देश अघि बढ्छ।'
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार छन् ।