काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ ।
जारी विश्वकपमा भारतको यो पहिलो हार हो । हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा १११ रनमै अलआउट भयो ।
भारतका लागि शिवम दुबेले ४२ रन जोडेका थिए । बलिङमा दक्षिण अफ्रिकाका मार्को यान्सेनले ४ विकेट लिए भने केशव महाराजको नाममा ३ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डेभिड मिलरले ३५ बलमा ६३ रन र डेवाल्ड ब्रेभिसले ४५ रन जोडे । बलिङतर्फ भारतका जसप्रित बुमराहले ३ विकेट तथा अर्शदीप सिंहले २ विकेट लिए ।
यस्तै, विश्वकप सुपर–८ अन्तर्गत हिजै भएको पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको छ ।