रौतहट। जिल्लाको गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक विवादपछि दुवै पक्षबीच ६ बुँदे सहमति भएको छ ।
शनिबार साँझ जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको हो ।
सहमतिसँगै उक्त क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएका छ ।
सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छन् ।
बिहीबार राति हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा बजाउन नहुने भन्दै अवरोध गरेपछि झगडा सुरु भएको थियो ।
बिहीबार राति देखिको सामान्य विवाद बढ्दै जाँदा शुक्रबार बिहान दुवै समुदायबीच झडप हुँदा डिजे समूहका सदस्यहरूलाई कुटपिट र ढुंगामुढा समेत भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । यस क्रममा ६ जना सर्वसाधारण घाइते भएका छन् भने प्रहरीका दुई जना पनि घाइते भएका थिए ।
घटनापछि शनिबार बिहानदेखि फेरी दुवै पक्षबीच पुनः झडप सुरु भई प्रदर्शनकारीहरूले भारतीय नम्बर प्लेटको एक गाडी र १२ वटा मोटरसाइकल तोडफोड र आगजनी गरेका थिए ।
त्यसपछि अहिले स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो। घटनापछि गृह मन्त्रालयमा समेत सुरक्षा समितिको बैठक बोलाइएको थियो ।
साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए ।
यसअघि बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो
बैठकबाट तय भएका प्रमुख निर्णयहरू
‘सम्बन्धित क्षेत्रमा उत्पन्न विवादका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति कायम राख्न सबै पक्षले संयुक्त अपिल गर्ने तथा कर्फ्यु लागू अवस्थाबीच सौहार्दपूर्ण वातावरण निर्माणमा सहयोग गर्ने।
‘विवाद समाधानमा सहयोग पुग्ने दुवै पक्षका स्थानीय अगुवा तथा सम्मानित व्यक्तिहरूसँग जिल्ला सुरक्षा समितिले निरन्तर संवाद र आवश्यक बैठकमार्फत पहल गर्ने।
‘बाह्य घटनालाई स्थानीय सन्दर्भसँग जोडेर सामाजिक सञ्जालमा भ्रामक प्रचार हुन नदिन सुरक्षा निकायलाई सहयोग गर्ने तथा आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने।
‘सद्भाव बिगार्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी जारी राख्ने, पक्राउ परेकाहरूको अनुसन्धान निष्कर्षका आधारमा ‘कानुनी कारबाही गर्ने र थप संलग्नता देखिएमा अन्य व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्ने।
-जिल्लामा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा निर्धारित समयमा सद्भाव र्याली आयोजना गर्ने।