Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अजोभ सागरमा पाँच जहाजमाथि युक्रेनी आक्रमणको दाबी, ५ अजरबैजानी नागरिकको मृत्यु

अजोभ सागरमा पाँच जहाजमाथि युक्रेनी आक्रमणको दाबी, ५ अजरबैजानी नागरिकको मृत्यु

शनिवार , जेठ २३, २०८३

एजेन्सी । युक्रेनले अजोभ सागर तथा रुसले कब्जा गरेको युक्रेनी तटरेखानजिक सञ्चालन भइरहेका पाँच जहाजमाथि सफल आक्रमण गरेको दाबी गरेको छ।

युक्रेनको ड्रोन सेनाका कमान्डर रोबर्ट ब्रोभ्डीका अनुसार ती जहाजहरू युक्रेनी अन्नको अवैध ओसारपसार तथा रुसी सैन्य सामग्री र इन्धन ढुवानीमा संलग्न थिए।

ब्रोभ्डीले मारिउपोल र बर्दियान्स्क बन्दरगाह आसपासका क्षेत्रमा रातिको समयमा कार्गो जहाज र इन्धन ट्याङ्करलाई निसाना बनाइएको बताएका छन्। उनका अनुसार ती जहाजहरूले आफ्नो पहिचान लुकाउन नाम मेटेका थिए भने निगरानीबाट बच्न रडार प्रणालीसमेत बन्द गरेका थिए।

यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको एक दिनपछि भएको हो।

युद्ध अन्त्यका लागि गरिएको उक्त प्रस्तावलाई पुटिनले सेन्ट पिटर्सबर्गमा आयोजित आर्थिक मञ्चको कार्यक्रममा अस्वीकार गरेका थिए।

घटनाकै बीच युक्रेनले रोमानियाको तट नजिक आफ्नो एक नौसेना ड्रोन विस्फोट भएको पुष्टि गरेको छ। उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

यता अजरबैजानको विदेश मन्त्रालयले अजोभ सागर क्षेत्रमा भएका आक्रमणबाट आफ्ना पाँच नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार मृतकहरू ‘नोस्ट्रा’ र ‘सिर्कोन’ नामका जहाजमा कार्यरत थिए। यद्यपि ती जहाजहरू अजरबैजानका नभएको र घटनाका लागि कुनै पक्षलाई दोष नदिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

युद्धको मोर्चामा आक्रमण र प्रतिआक्रमण जारी रहँदा युक्रेनका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077