काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाणहरू सार्वजनिक गरेका छन्।
काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै सभापति थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने दाबी गर्दै अदालती कागजात, चेक विवरण र सर्वोच्च अदालतको फैसलाका बुँदाहरू सार्वजनिक गरेका हुन् ।
थापाले आफूले आरोप मात्रै नलगाएको भन्दै सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला तथा विभिन्न जिल्ला अदालतमा पेश भएका मिसिलहरूलाई आधार बनाएको बताए।
‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु,’ थापाले भने, ‘यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’
थापाले चितवन र रुपन्देही जिल्ला अदालतका रेकर्डलाई उद्धृत गर्दै रवि लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको दाबी गरे।
उनका अनुसार लामिछाने गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीबाट आएको रकम खर्च गरिएको र त्यसमा लामिछानेकै हस्ताक्षर भएको चेक भुक्तानी भएको प्रमाण भेटिएको छ।
‘चितवनको अदालतको रेकर्ड अनुसार रवि लामिछानेको नाममा ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ र उहाँ आफैँले हस्ताक्षर गरेका ४१४ वटा चेकहरू फेला परेका छन्,’ थापाले दाबी गरे।
त्यस्तै, बुटवलस्थित सुप्रिम सहकारीबाट बिना धितो लामिछानेको व्यक्तिगत नाममा २ करोड रुपैयाँ ऋण प्रवाह भएको पनि उनले बताए।
थापाले सर्वोच्च अदालतको वेबसाइटमा उपलब्ध फैसलाको विवरण उल्लेख गर्दै लामिछाने प्रबन्ध निर्देशक हुनुअघि नै कम्पनीको सञ्चालक समितिको बैठकमा सहभागी भएको र बैंक खाता खोल्ने निर्णयमा समेत संलग्न रहेको दाबी गरे।