काठमाडौं । युक्रेन र रुसबीच अमेरिकाको मध्यस्थतामा जेनेभामा जारी शान्ति वार्ता निष्कर्षविहीन सकिएको छ ।
वार्तामा केही प्रगति भए पनि दुवै पक्ष सबैभन्दा संवेदनशील मुद्दा ‘भूभाग नियन्त्रण’को विषयमा सहमतिमा पुग्न नसकेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाले दुवै पक्षमाथि दबाब बढाउँदै आएको छ। युद्धका कारण अहिलेसम्म दसौँ हजार मानिसको मृत्यु भइसकेको छ भने पूर्वी तथा दक्षिणी युक्रेनका ठूला भूभागहरू ध्वस्त भएका छन्।
तर युद्ध अन्त्य भएपछिको भूभागको स्वामित्व कसले पाउने भन्ने विषयमा युक्रेन र रुसबीच मतभेद कायम रहेको छ।
रुसले युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रमा पूर्ण नियन्त्रण चाहेको छ। वार्तामार्फत उक्त क्षेत्र आफ्नो पक्षमा नआए बल प्रयोग गरेरै कब्जा गर्ने संकेतसमेत दिएको छ।
युक्रेनले भने रुसको मागलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आफ्नो भूभागमाथि सम्झौता अस्वीकार्य हुने जनाएको छ।
युक्रेनले रुसले भविष्यमा पुनः आक्रमण नगर्ने सुनिश्चित ‘सुरक्षा ग्यारेन्टी’ नपाएसम्म कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान लिएको छ।
वार्ता समाप्त भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै युद्धविरामसँग सम्बन्धित अधिकांश विषयमा सहमति भए पनि प्रभावकारी अनुगमन संयन्त्र आवश्यक रहेको बताएका छन् ।
उनले उक्त संयन्त्रमा अमेरिका पनि सहभागी रहने जानकारी दिएका छन्।