काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयहरूबारे खुला प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ।
बुधबार मधेश प्रदेशको राजधानी जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रको विस्तृत जानकारी दिन तथा जनताका जिज्ञासाको जवाफ दिन पार्टीले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ शीर्षकमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
कांग्रेसका अनुसार उक्त कार्यक्रम भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुनेछ । कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले प्रतिज्ञापत्रका विषयमा देश तथा विदेशबाट आउने प्रश्न लिँदै प्रत्यक्ष जवाफ दिनेछन् ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रका मुख्य बुँदाहरू संक्षेपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए।
‘नेपाली कांग्रेसले बुधबार जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रबारे बिहीबार काठमाडौंमा विस्तृत जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ,’ चालिसेले भने।
उनका अनुसार प्रविधिको प्रयोग गरेर संसारभरबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने व्यवस्था मिलाइएको छ।