काठमाडौं । नेपालले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा ऐतिहासिक जित निकालेको छ ।
मंगलबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित ५० रन, गुलशन झाले अविजित २४ रन बनाए । ओपनर कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३ र कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको थियो।
स्कटल्याण्डका लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।
त्यस्तै, नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट हात पारे। यसअघि नेपालले सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो।