दार्चुला । दार्चुलामा सोमबार राति छुट्टाछुट्टै स्थानमा दुई जनाको हत्या भएपछि जिल्लामा असुरक्षा बढेको छ ।
एकै रात दुईवटा जघन्य घटना भएपछि शान्ति सुरक्षाको अवस्था र प्रहरी नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
गत सोमबार राति महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको थियो ।
त्यस्तै शैल्यशिखर नगरपालिका–८ मा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी गरगहना लुटपाट गरिएको प्रहरीले जनाएको छ ।
एकै दिन दुई जनाको हत्या भएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
चुनाव नजिकिँदै गर्दा हत्या हिंसा बढ्नुले सुरक्षा चुनौती थपिएको देखिएको छ । तर घटनापछि प्रहरी प्रशासनबाट प्रभावकारी सूचना प्रवाह हुन नसक्दा झनै अन्योल सिर्जना भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले सञ्चार माध्यमसँग समन्वय गर्न चासो नदेखाएको आरोप लागेको छ । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पठाइएको प्रारम्भिक रिपोर्टसमेत त्रुटीपूर्ण देखिएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जिल्लाबाट आएको रिपोर्टकै आधारमा प्रहरी हवल्दार घर्तीको हत्या ‘अस्मिता वियर बार’ मा भएको बताएका थिए । तर वास्तविक घटना ‘पूजा वियर बार’ मा भएको खुलेको छ ।
त्यस्तै पक्राउ र फरार व्यक्तिको नाम पटक–पटक फेरिँदा थप भ्रम फैलिएको छ । सुरुमा दिपिका पाल, पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको बताइएको थियो भने आशिष पाल, उनका भाइ अनिस पाल, लक्ष्मी बडु र राजेन्द्र डडाल फरार भनिएको थियो ।
तर पछि आशिष पाल र राजेन्द्र डडाल पक्राउ परेपछि प्रहरीले दिपिका पाल नभएर फर्सवान र पायल लुहार नभएर मानमती आउजी पक्राउ परेको बताएको छ । साथै फरारमध्ये लक्ष्मी बडु नभएर जानकी पाल रहेको प्रहरीले जनाएको छ ।
यस्तै संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वमा खटिएको टोलीले जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एकैदिन आफ्नो कर्मचारीसहित दुईजनाको हत्या भएपछि डीएसपी महत पनि तनावमा छन् ।
आफ्नै प्रहरी कर्मचारीको ज्यान गएको संवेदनशील घटनामा तालुक कार्यालयसम्म गलत विवरण पठाइनु र सञ्चार माध्यमसँग समन्वय नहुनु प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउने विषय बनेको छ ।