Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश खरेल भन्छन् - सिमावर्ती क्षेत्रमा तस्करी व्यवसाय जस्तै बन्यो, राज्यको उपस्थिति कागजमा मात्र

रमेश खरेल भन्छन् - सिमावर्ती क्षेत्रमा तस्करी व्यवसाय जस्तै बन्यो, राज्यको उपस्थिति कागजमा मात्र

मंगलवार , माघ २७, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले सीमावर्ती क्षेत्रमा तस्करी ‘व्यवसाय’ जस्तै बनेको आरोप लगाएका छन् ।

पर्साको वीरगञ्जमा अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि भएको आक्रमणलाई लिएर उनले सरकार र राज्य संयन्त्रको कमजोरी उजागर भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै खरेलले वीरगञ्जमा एक ‘नामुद तस्कर’को अड्डामा छापा मार्न खोज्दा सशस्त्र प्रहरीहरू कुटिएको घटनाले सरकारलाई नाङ्गो पारेको टिप्पणी गरे । उनले राज्यको उपस्थिति कागजमा भए पनि जमिनमा गैरकानुनी गिरोहले शक्ति चलाइरहेको जस्तो देखिएको उल्लेख गरे।

खरेलले लेखेका छन्, “राज्यको उपस्थिति कागजमा छ, तर जमिनमा शक्ति गैरकानुनी गिरोहले चलाइरहेको देखिन्छ। जब कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुन्छ, तब सर्वसाधारण नागरिकले न्याय र सुरक्षाको अनुभूति कसरी गर्ने ?”

उनले उक्त घटना कुनै एक दिनको कमजोरी नभई वर्षौँदेखि रहेको राजनीतिक संरक्षण, दण्डहीनता र संगठित गिरोहको प्रभावको परिणाम भएको बताएका छन्।

खरेलले सीमावर्ती क्षेत्रमा तस्करीलाई ‘व्यवसाय’का रूपमा स्थापित भएको उल्लेख गर्दै अपराधीहरू ढुक्क रहेको र राज्य संयन्त्र डराएको अवस्था देखिएको टिप्पणी गरेका छन्।

उनले आक्रमणकारीहरू आज खुलेआम घुमे भोलि व्यापारी, पत्रकार र सर्वसाधारण नागरिकमाथि समेत हमला गर्न हिच्किचाउने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

पूर्व डीआईजी खरेलले अब औपचारिक विज्ञप्ति र सरुवा मात्रले नपुग्ने भन्दै घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन, राजनीतिक संरक्षण तोड्न र सीमामा खटिने सुरक्षाकर्मीलाई आवश्यक आदेश, स्रोतसाधन र सुरक्षा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

उनले कानूनको शासन कागजमा होइन व्यवहारमा देखिनुपर्ने भन्दै अन्यथा राज्यप्रति नागरिकको विश्वास झनै कमजोर हुँदै जाने चेतावनी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077