काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङको मतपत्र छपाइ भएको बताए ।
डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मीको मतपत्र छाप्ने काम सकिएको छ ।
झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । यी जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको छ ।
हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।