काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन तथा राजनीतिक शुद्धीकरणका लागि कडा कदम चाल्न आवश्यक रहेको बताएका छन् ।
चितवनमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले बदलिएको कांग्रेस अब नयाँ संकल्पसहित अघि बढ्ने उल्लेख गर्दै गगन थापालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित पार्टी अघि बढ्ने दाबी गरेका हुन् ।
उनले बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि मुआब्जा वितरणको काम लगभग सम्पन्न भए पनि निर्माण कार्यका लागि बजेट अभाव रहेको बताए। यस समस्याको समाधानका लागि उनले जीडीपीपी मोडेल अघि सारे ।
शर्माका अनुसार विदेशमा रहेका नेपालीहरूले १००० देखि २५ हजार अमेरिकी डलरसम्म लगानी गर्न सक्ने र त्यसबाट बुढीगण्डकी परियोजना निर्माण सम्भव हुने उनको भनाइ छ।
उनले उक्त परियोजनाबाट १२०० मेगावाट विद्युत् उत्पादनसँगै पर्यटन प्रवर्द्धन तथा माछा उत्पादनसमेत सम्भव हुने विशाल ड्याम निर्माण गर्न सकिने परिकल्पना प्रस्तुत गरे।
शर्माले विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्न ८–८ घण्टाको तीन सिफ्टमा निर्माण कार्य सञ्चालन गर्नुपर्ने धारणा राखे।
उनले धनी देशहरूले राति पनि काम गरेर विकासलाई तीव्र बनाउने तर नेपालमा राति सुत्ने प्रवृत्तिले परियोजनाहरू ढिला हुने उल्लेख गर्दै अस्पताल, सडक, पुल लगायतका संरचना निर्माणका काम राति पनि गराएर समय घटाउनुपर्ने बताए।