Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेक रेस्क्यू प्रकरण : श्रीद्धीका सञ्चालक तिमिल्सिना पक्राउसँगै नाम चलेका अस्पतालमाथि सीआईबीको निगरानी

फेक रेस्क्यू प्रकरण : श्रीद्धीका सञ्चालक तिमिल्सिना पक्राउसँगै नाम चलेका अस्पतालमाथि सीआईबीको निगरानी

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बीमा रकम ठगी गरेको अभियोगमा डा. गिर्वाणराज तिमिल्सिना पक्राउ परेसँगै नाम चलेका अस्पतालहरुमाथि प्रहरीले निगरानी बढाएको छ । 

फेक रेस्क्यूमा संलग्न नाम चलेको नर्भिक इटरनेशन हस्पिटलसहित अन्य केही अस्पतालहरुमा प्रहरीले गोप्य अनुसन्धान बढाएको हो । 

लाजिम्पाटस्थित श्रीद्धी इन्टरनेशनल हस्पिटल प्रालिका सञ्चालक डा. तिमिल्सिना हिजो पक्राउ परेका थिए । 

पर्वतको मोदी गाउँपालिका–२ स्थायी घर भएका ४४ वर्षीय तिमिल्सिनालाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा माघ २५ गते पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । 

प्रहरीका अनुसार विभिन्न रेस्क्यू कम्पनीहरू–माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस सँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गर्दै आएको पाइएको छ।

ठगीमा संलग्न कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा रहेको ‘प्यासेन्जर एण्ड कार्गो म्यानफेस्ट’को विवरणमा थपघट गरी किर्ते बिलहरू तयार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 
उनीहहरुले उद्धार गरिएको भनिएका पर्यटकहरूलाई अस्पतालमा अनिवार्य भर्ना गरिएको र उपचार गराइएको झूटो प्रतिवेदन समेत खडा गरी बीमा कम्पनीहरूसँग ठूलो रकम दाबी गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नेपाललाई असुरक्षित गन्तव्यको रूपमा प्रचार गराई पर्यटक आगमनमा समेत नकारात्मक प्रभाव पार्नेगरी काम गरेको अभियोगमा पक्राउ परेका डा. तिमिल्सिना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

सिआइबीले ‘पर्वतारोहण’ तथा ‘ट्रेकिङ’का क्रममा विदेशी पर्यटकलाई स्वास्थ्य समस्या वा प्राकृतिक विपद् परेको झुटो विबरण देखाउँदै अनावश्यक उद्धार गराई बीमा रकम दाबी गरी गैरकानूनी आर्थिक लाभ लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको थियो ।

सीआईबीले साढे दुई महिनाको विस्तृत अनुसन्धानपछि माघ ११ गते तीनवटा कम्पनीका ६ जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिसका रविन्द्र अधिकारी र विवेकराज थपलिया, माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमाल र विवेक पाण्डे तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्सका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्।

उनीहरूले हिमाली क्षेत्रमा सामान्य टाउको दुखाइ वा थकान भएका पर्यटकलाई पनि ‘एक्युट माउन्टेन सिकनेस’ भएको भनी झूटो रिपोर्ट बनाएर अनावश्यक रूपमा हेलिकप्टरमार्फत उद्धार गर्ने र अस्पतालमा भर्ना गरी नक्कली बील बनाएर अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूबाट मोटो रकम असुल्ने गरेको पाइएको छ।

यो गिरोहले कुल मिलाएर करिब २ अर्ब ९० करोड नेपाली रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुमान छ।

यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ । माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि यता २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको थियो । 

ती उद्धारमध्ये १७१ पर्यटकको उद्धार नक्कली देखिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् । १७१ जनाको नक्कली उद्धार गरेर बीमा वापतको १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर यो कम्पनीले लगेको छ ।

त्यसैगरी नेपाल चार्टरले ४१७ जनाको उद्धार गरेको छ । जसमध्ये ७५ जनाको उद्धार भने नक्कली देखिएको छ । त्यसवापत बीमाको ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर बुझेको देखिएको छ ।

त्यस्तै एभरेस्टले भने ६०१ जनाको उद्धार गरेको थियो । जसमध्ये ७१ जना पर्यटकको नक्कली उद्धार गरेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ डलर बुझेको सीआईबीको भनाइ छ ।

सीआईबीको अनुसन्धानले यो गिरोहले निकै योजनाबद्ध ढंगले ठगी गर्ने गरेको देखाएको छ। उनीहरूले चार्टर उडानलाई उद्धारमा रूपान्तरण गर्ने, एउटै उडानमा धेरै बिमा दाबी गर्ने र निजी अस्पतालहरूसँगको मिलेमतोमा फर्जी बिल तयार पार्ने गरेको खुलेको छ।

ठगी गर्दै आएको यो समूहले उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई अनिवार्य बीमा पोलिसीमा उल्लेख भएका शर्तअनुसार काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरी उपचार गरिएको देखाई भर्ना, डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट र उपचार खर्चका बिल तयार पारी त्यसकै आधारमा बीमा रकम दाबी गरिएको सीआईबीले जनाएको छ । 

तिमिल्सिना पक्राउ परेसँगै फेक रेस्क्यू गर्ने कम्पनीहरुलाई सहयोग गर्दै आएका केही अस्पतालहरुमाथि प्रहरीले निगरानी बढाएको स्रोतले जनाएको छ ।

प्रहरी स्रोत भन्छ–‘फेक रेस्क्यू गरी बीमा वापतको रकम ठगी गर्दै आएको समूहले थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल अस्पताल, मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल र टोखामा रहेको ग्राण्डी सिटी अस्पतालमाथि गोप्य अनुसन्धान भइरहेको छ ।’

यो घटनाले नेपालको पर्यटन छविलाई अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाउने जोखिम रहेकाले सीआईबीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।

यसअघि २०७५ सालमा रसियन नागरिक पावेल छेपेलेन फेक रेस्क्यूमा परेको बारे विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए । नर्भिक हस्पिटलले उनको पासपोर्ट नै कब्जामा लिएको तर पछि फिर्ता दिएको खुलेको थियो । 

२०७४ को भदौमा ट्राभलर असिस्टले करिब ३५ प्रतिशत नक्कली उद्धार रहेको बताएको थियो । २०७४ को फागुनमै पदयात्रीको खानामा मिसावट गरी कृत्रिम बिरामी बनाउने र हेलिकप्टरमार्फत रेस्क्यु लिई कमिसन खाने गरेको विषय बाहिर आएको थियो ।

त्यसपछि २०७५ असारमा पर्यटन मन्त्रालयको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा फेक रेस्क्युबारे थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने भनिएको थियो । 

फेक रेस्क्यु देखिएको भन्दै ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ समेत लागु‍ भएको थियो । तर त्यतिबेलाका यी घटनाहरूको प्रमाण अहिले नहुँदा अनुसन्धानमा समस्या भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077