काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको र अब नयाँ सोच तथा नयाँ शैलीका साथ अघि बढिरहेको बताएका छन् ।
बिहीबार साँझ एक भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेसको संकल्प र कार्यशैलीमा परिवर्तन आएको उल्लेख गरेका हुन् ।
उनले भिडियो सन्देशमा भने, 'हामी नयाँ सोचका साथ आएका छौँ, संकल्प बदलिएको छ, शैली बदलिएको छ।' थापाले कानून उल्लङ्घन गर्ने जोसुकै भए पनि सजाय पाउनुपर्ने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
उनले व्यक्ति पार्टीको होस् वा विपक्षी, नेता होस् वा सामान्य नागरिक, शक्तिशाली होस् वा प्रभावहीन—कानून तोडेको खण्डमा सजाय अनिवार्य हुनुपर्ने कांग्रेसको धारणा रहेको स्पष्ट पारे ।
उनले भने, 'रुखको छहारीमुनि बसेको होस्, नेता होस्, नाता पर्ने होस्, ठूलो होस्, पावरफुल होस्, जोसुकै होस्—कानून उल्लङ्घन गरेको छ भने उसले सजाय पाउनुपर्छ भन्ने कुरामा कांग्रेसले स्ट्याण्ड गर्छ । आफ्नो मान्छे होस्, अर्काको मान्छे होस्।'