घोषणापत्र छिट्टै सार्वजनिक हुने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनलाई प्रभावकारी रूपमा अघि बढाउन सातै प्रदेशमा प्रदेशगत जिम्मेवारी तोकेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले प्रदेशअनुसार वरिष्ठ नेताहरूलाई अनुगमन तथा समन्वयको जिम्मेवारी दिएको हो ।
नेकपाका अनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले निर्वाचनका लागि नेता तथा कार्यकर्ताको परिचालनसम्बन्धी ठोस निर्णय लिँदै छिट्टै निर्वाचन अपिल सार्वजनिक गर्ने तथा पार्टी घोषणापत्रलाई अन्तिम रूप दिई शीघ्र प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।
निर्वाचन प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन अग्नि सापकोटाको संयोजकत्वमा जगतनाथ खतिवडा र गोविन्द आचार्य सदस्य रहेको केन्द्रीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
समितिले विभिन्न सरोकारवाला पक्षसँग आवश्यक परामर्श गर्दै प्रचार अभियानलाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय बैठकले गरेको जनाएको छ।