काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर आफ्नो पार्टीको पहिलो बन्ने लहर बढिरहेको दाबी गरेका छन् ।
आइतबार सिंहदरवारमा सम्पन्न राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा जाने आधारहरू स्पष्ट हुँदै गएको बताएका हुन्।
उनले वैकल्पिक शक्तिको नाममा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह ती पार्टीकै उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको टिप्पणी छ ।
मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि प्रचण्डले उल्लेख गरे । प्रचण्डले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रयोग गरिरहेको सवारी र त्यसैको कारण आएको विवादले माहोल खस्किएको दाबी गरे।
उता गोरखा निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेकपाका तर्फबाट उम्मेदवार लेखनाथ न्यौपानेको निर्वाचन परिणाम अनुकूल दिशातर्फ गएको दाहालको भनाइ थियो। उम्मेदवारी फिर्ता र डा। भट्टराईसँग भएका संवादले अब डा. भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने विश्वास समेत व्यक्त गरे ।
साथै उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे ।