काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक जानकारी गराएको छ।
परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरूलाई निर्वाचनसम्बन्धी जानकारी प्रदान गरिएको हो।
निर्वाचन आयोगका अनुसार माघ १५ गते आयोजित उक्त जानकारी सत्र निर्वाचन आयोगको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
जानकारीका क्रममा आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार तथा सम्बन्धित सबै निकाय प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
साथै, निर्वाचन प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहकार्य र समर्थनको अपेक्षा गरिएको आयोगले जनाएको छ।
त्यसैगरी निर्वाचन पर्यवेक्षण प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाइने विषयमा पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको आयोगले जनाएको छ।