'१२ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बिगो माग'
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी अभियोग दर्ता गराएको छ।
उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सोही अभियोगमा सिमेन्ट कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरुद्ध मुद्दा दायर भएको छ ।
आयोगका अनुसार पौडेल उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको ठहर गरिएको छ। सो प्रकरणमा पौडेलबाट १२ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बिगो असुल उपर गर्न माग गरिएको छ।
यसअघि पनि करिब दुई वर्षअघि पौडेलमाथि आयोगले अर्को मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी अदालतबाट सफाइ पाएका थिए। त्यसपछि गत भदौमा पौडेललाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका थिए।
हाल नयाँ मुद्दा दर्ता भएसँगै प्रचलित कानुनी व्यवस्थाअनुसार उनी पदबाट निलम्बित भएका छन्।