काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ जेनजी भेट्न माइतीघर पुगेका छन् ।
विभिन्न माग राखेर ९ दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न प्रसाईँ आज माइतीघर पुगेका हुन् ।
गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि यो विषय सचिवालयले गर्न सक्दैन भन्दै फर्किएको सोडारीको भनाई थियो ।
यस्तै आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने बताएका छन् ।

केहि दिनअघि मात्रै नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले ‘पैसा खाएर निर्णय लिएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।
त्यसपछि प्रसाईँलाई पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईँको बयान लिइसकेपछि उनलाई हिरासतबाहिरै राख्न उपयुक्त ठहर गर्दै माग ६ गते हाजिर जमानीमा रिहा गरेको थियो ।