काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमीकमजोरी नगरी उच्च सतर्कताका साथ खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने गरी प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन ध्यान दिन निर्देशन दिए।
महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने चेतावनी दिए। उनले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न सबै सशस्त्र प्रहरी कर्मचारीलाई आग्रह गरे।
पदीय जिम्मेवारीमा खटिँदा बदमासी गर्ने अधिकृतमाथि कडा कारबाही गरिने उल्लेख गर्दै उनले मातहतका कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी परिचालित गर्न निर्देशन दिए। निर्वाचन सफल बनाउन अनुशासन, निष्पक्षता र व्यावसायिकता अनिवार्य रहेको उनको भनाइ छ।