Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आरोप पत्र दायर

कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आरोप पत्र दायर

सोमवार , माघ १२, २०८२

काठमाडौं । नागरिकता प्रमाणपत्र जारी गर्ने प्रक्रियामा अनियमितता भएको आरोप ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्ला दाङको राजपुर गाउँपालिका-४ मा नागरिकता तथा दर्तासम्बन्धी कागजातहरूमा गैरकानुनी हेरफेर गरी नागरिकता प्राप्त गर्न अयोग्य व्यक्तिलाई नागरिकता दिलाइएको भन्ने उजुरीमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा सार्वजनिक पदमा रहेका व्यक्तिहरू र अन्य व्यक्तिहरूबीच मिलेमतो भई प्रक्रिया विपरीत कार्य भएको देखिएको आयोगले जनाएको छ।

आरोप पत्र दायर गरिएका व्यक्तिहरूमा इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवास, राजपुर गाउँपालिका-४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका तत्कालीन वडा सचिव (स्थानीय पञ्जिकाधिकारी) राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी तथा अन्य दुई व्यक्ति आलम जोल्हा र आएसा जोल्हा रहेका छन्।

आयोगका अनुसार अनुसन्धानका क्रममा नागरिकता प्रमाणपत्रका लागि पेश गरिएका जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्रमा झुट्टा विवरण समावेश गरिएको, कागजातहरू सच्याउने, केरमेट गर्ने तथा हेरफेर गर्ने कार्य भएको देखिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, नागरिकता प्रदान गर्नु अघि गर्नुपर्ने आवश्यक जाँच–बुझ र प्रमाणीकरण नगरी ती कागजातकै आधारमा नागरिकता प्रमाणपत्र जारी गरिएको भनिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसूरजन्य भएको ठहर गर्दै सोही ऐनको दफा ९, दफा ११ तथा दफा २२ बमोजिम कैद र जरिवानाको सजाय माग दाबी लिई आरोप पत्र दायर गरिएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077