काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल नै भएको स्पष्ट पारेको छ ।
कांग्रेस सभापति गगन थापाले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएर कँडेल नै पार्टीको आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारेका हुन् ।
नवलपरासी क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट पूर्व गृहराज्यमन्त्री कँडेल र सुनवल नगरपालिकाका पूर्वमेयर भीमबहादुर थापाले उम्मेदवारी दर्ता गरेका थिए ।
थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए ।कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए । दुवै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिता विवाद उत्पन्न भएको थियो ।
दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा। राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी थापालाई आधिकारिकता दिएका थिए ।
तर सभापति थापाले आयोगलाई पत्र लेख्दै कँडेल नै आधिकारिक भएको जानकारी गराएका हुन् ।