काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देश सिंगो रूपमा निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् ।
मंगलबार एक सन्देश जारी गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको उल्लेख गरेकी हुन्।
मुलुकभर उम्मेदवारी मनोनयनमा देखिएको व्यापक सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास बलियो भएको सन्देश दिएको प्रधानमन्त्री कार्कीको भनाइ छ।
'निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ,' उनले भनिन्, 'अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ।'
प्रधानमन्त्री कार्कीले १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गर्नु लोकतान्त्रिक विश्वासप्रति गहिरो आस्थाको प्रमाण भएको उल्लेख गर्दै नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम रहेको आजको उत्साहले पुष्टि गरेको बताइन्।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको जनाउँदै सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने स्पष्ट पारिन्। 'हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्,' कार्कीको भनाइ छ।
निर्वाचन कार्यतालिकाबमोजिम अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरिरहेको निर्वाचन आयोगलाई प्रधानमन्त्री कार्कीले नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरिन्। साथै, लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा पनि गरिन्।
अन्त्यमा उनले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपालीलाई संयमित र सक्रिय सहभागिताको अपिल गर्दै निर्वाचन प्रक्रियामा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्।