काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिक तर्फका ३ हजार २१३ उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले आइतबार आफ्नो वेबसाइटमार्फत ६३ वटा राजनीतिक दलबाट पेस भएका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगले जनाएको छ । बन्दसूचीमा समावेश उम्मेदवारहरूको योग्यता सम्बन्धमा दाबी–विरोध गर्न चाहने मतदाताका लागि आयोगले समयावधि तोकेको छ ।
आयोगका अनुसार कुनै उम्मेदवारको योग्यता वा विवरणप्रति आपत्ति जनाउन चाहने मतदाताले माघ ५ गतेदेखि माघ १० गतेसम्म, बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी–विरोध गर्न सक्नेछन् ।