काठमाडौं । नेपाली कांग्रेस (देउवा पक्ष) का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको चुनाव चिन्ह ‘रुख’ बाहेक अन्य कुनै विकल्पको कल्पना पनि गर्न नसकिने स्पष्ट प्रतिक्रिया दिएका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको जानकारी दिएका छन् । उनले सर्वोच्चबाट न्याय पाउने पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।
खड्काका अनुसार २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार सबैको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
उनले लेखेका छन्, 'सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ।' कार्यवाहक सभापति खड्काले पार्टीभित्र र बाहिर फैलाइएका हल्लाहरूप्रति पनि कडा आपत्ति जनाएका छन् ।
नयाँ पार्टी खोल्ने, स्वतन्त्र उम्मेदवार बन्ने जस्ता चर्चा पूर्ण रूपमा निराधार रहेको भन्दै त्यस्ता भ्रमको पछि नलाग्न उनले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई आग्रह गरेका छन् ।