काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था कहिल्यै आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसलाई गर्व गर्न योग्य पार्टी बनाउने बताएका छन् । उनले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र निष्ठाका साथ निर्वाह गर्ने स्पष्ट पारे।
थापाले भने, “जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरूमध्ये कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन। म नेपाली कांग्रेस पार्टीको शान जोगाउनेछु। यस पार्टीमा लागेका सम्पूर्ण साथीहरूले नेपाली कांग्रेस भएकामा गौरव गर्ने अवस्था बनाउँछु। नागरिक अप्ठ्यारोमा पर्दा कांग्रेस छ भन्ने अनुभूति गराउने काम पार्टीले गर्नेछ।”
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र नयाँ नेतृत्वप्रति प्रतिबद्धता र जनमुखी राजनीतितर्फको संकेतका रूपमा हेरिएको छ।