काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने घोषणा गरेका छन् ।
मंगलबार साँझ जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो घोषणा गरेका हुन् ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै कांग्रेस नयाँ ऊर्जा, बलियो नेतृत्व र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने बताए । उनले कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रूपमा गगन थापालाई अघि सार्ने उल्लेख गरे।
‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। पार्टी बदलिएर आउँदैछ, बलियो नेतृत्व र राम्रो दृष्टिकोण लिएर आउँदैछ,’ शर्माले भने, ‘नेपाली कांग्रेस फागुन २१ गते लोकतान्त्रिक, स्वस्थ र हार्दिक प्रतिस्पर्धाका लागि आउँदैछ। र पार्टीको नेतृत्व तथा मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अगाडि ल्याइँदैछ।’