काठमाडौं । भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थलमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएपछि पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्मा भने भृकुटीमण्डपबाट बाहिरिएका छन् ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएर पार्टीको केन्द्रीय कार्यालय सानेपातिर लागेका हुन् ।
विशेष महाधिवेशनस्थल छाडेका डा. भण्डारी अहिले संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन् भने शर्माले पनि आफूहरू पार्टी फुटको पक्षमा नलाग्ने बताएका छन् ।
नेता भण्डारीले पार्टी विभाजनबाट आफू टाढा रहेको बताएका छन्। तर विशेष महाधिवेशनबाट आफू नहटेको बताउँदै उनले सबै पक्षलाई मिलाउन खोजिरहेको बताए।
यद्यपी उनले आफू विशेष महाधिवेशनको पक्षबाट पछि नहटेको बताउँदै मिलाउने प्रयत्नमा लागेको बताएका छन् । शर्मा कांग्रेसमा नेता डा. शेखर कोइराला निकट हुन् । तर उनी शेखरलाई छोडेर विशेष महाधिवेशन उद्घाटनमा सहभागी भएका थिए ।
वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेर उम्मेदवारका लागि मनोनयन पत्र वितरण थालेसँगै दुई नेता त्यहाँबाट बाहिरिएका हुन् ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएपछि सभापति देउवामाथि पार्टीलाई फुटबाट जोगाउन थप दबाब परेको छ। अहिले सानेपामा देउवा पक्षको भेला भइहरेको छ ।
‘बरु विष पिउँछु पार्टी फुट्न दिन्न’ भन्ने महामन्त्री गगन थापाले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया अगाडि बढाएपछि कांग्रेसभित्र हलचल नै मच्चिएको छ ।