काठमाडौं । भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हालसम्म ४९.३४ प्रतिशतले नाम दर्ता गराएका छन्। विशेष महाधिवेशनस्थलमा अहिले पनि नाम गर्दा गराउने क्रम जारी छ।
कांग्रेसमा ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका थिए।
विशेष महाधिवेशनको पक्षमा काठमाडौं आउनेको संख्या बहुमतनजिक पुगिसकेको छ। उनीहरुले ६० प्रतिशतभन्दा धेरै सहभागी हुने दाबी गरेका छन्। ५० प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेसँगै देउवा समूह बढारिने संकेत देखिएको छ ।
महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ ।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।
सभापति शेरबहादुर देउवापक्षको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरू भएको हो।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेमा वैधानिकता के हुने भन्ने प्रश्न उब्जिएको छ । नेपाली कांग्रेसकै संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भनिरहेको छ । अर्को पक्षले भने विधान पालनाकै लागि विशेष महाधिवेशन बोलाएको तर्क गरिरहेको छ ।
त्यसैले विशेष महाधिवेशनले जस्तोसूकै निर्णय गरे पनि यसले पार्टीभित्र विवाद समाधान हुनको साटो अझ बढ्ने सम्भावना देखिएको छ ।