काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको समर्थन उल्लेखनीय रूपमा बढेको छ । हालसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको जानकारी दिइएको छ ।
सोमबार साँझ विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
उनका अनुसार सोमबार मात्रै ६.२४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू थप हस्ताक्षरमा सहभागी भएका छन् ।
‘हिजो हाम्रो संख्या २६ सय ६२ थियो। आज ६.२४ प्रतिशत थपिँदा कुल ६३ प्रतिशत साथीहरूले हस्ताक्षर गरिसक्नुभएको छ,’ पोखरेलले भने, ‘प्रतिनिधि आउने क्रम जारी छ। हामी ७० प्रतिशत पुर्याएर देखाउँछौँ ।’
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्र स्थगित गरिएको छ ।