काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस गरिएको विशेष महाधिवेशन कार्यविधि-२०८२ सर्वसम्मत रूपमा पारित भएको छ ।
अधिवक्ता तथा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले बन्दसत्रमा पेस गरेको विशेष महाधिवेशन कार्यविधि-२०८२ (नयाँ पार्टी सभापति निर्वाचित गर्ने कार्यविधि) प्रतिनिधिहरूको सहमतिमा पारित गरिएको छ।
कांग्रेसको चौथौँ महाधिवेशन २०७८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भएपछि त्यसलाई बिघटन गर्ने कार्यविधि पारित गरिएको हो।
यसअघि १४औं महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए। दोस्रो विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूको संख्या २८ सय नाघेको छ । कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ। सम्पर्कमा रहेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ।
कार्यविधिमा विशेष महाधिवेशनले गर्ने छलफल, एजेन्डा प्रस्तुत गर्ने प्रक्रिया, निर्णयको ढाँचा तथा कार्यसूची समेटिएको बताइएको छ । साथै नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिने विषय पनि कार्यसूचीमा परेको छ।
यद्यपि, कार्यविधिभित्र समावेश गरिएका सबै विषयवस्तुहरूबारे विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका मूल राजनीतिक प्रस्ताव, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा छलफल अघि बढ्ने छ।