काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता तीव्र रूपमा भइरहेको छ।
सोमबार बिहान सवा ८ बजेदेखि सुरु भएको दर्ता प्रक्रियामा अहिलेसम्म ६२.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।
आयोजकका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा २९ सयभन्दा बढीले दर्ता गराइसकेका छन्। सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क व्यवस्था गरी भृकुटीमण्डप मूलगेटसँगैका स्टलहरूबाट नाम दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ।
महाधिवेशन प्रतिनिधिहरूलाई नाम दर्ताका लागि परिचय खुल्ने कुनै आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइज फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क साथमा ल्याउन अनुरोध गरिएको छ। दर्ता शुल्क लक्ष्मी बैंकमार्फत संकलन भइरहेको आयोजकले जनाएको छ।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए। नेपाली कांग्रेस विधानको धारा १७(२) अनुसार कुल महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
संस्थापन पक्षले लामो समयसम्म उक्त मागलाई बेवास्ता गरेपछि विधानको यही प्रावधानलाई आधार मानेर पार्टीलाई ‘पुनर्जागरण’तर्फ लैजाने उद्देश्यसहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरु भएको हो।