काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू कुनै वंश वा रगतको आधारमा होइन, विचार र साहसको आधारमा राजनीति गरिरहेको स्पष्ट पारेका छन्।
विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले दिवंगत नेता बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस आफूले बोकेको बताए।
महामन्त्री थापाले पार्टीभित्र कसैको अपमान नगर्ने स्पष्ट अडान व्यक्त गर्दै भने, 'हामी कसैको अपमान गर्दैनौँ। गणेशमान वा बीपीको छोरा म होइन। मेरो शरीरमा गणेशमानको रगत छैन, बीपीको रगत छैन। तर, मेरो सोचमा बीपीको विचार छ र मेरो साहसमा गणेशमानको आत्मा छ। त्यो बोकेर बसेका छौँ हामी।'
उनले नेपाली कांग्रेस विचार, मूल्य र लोकतान्त्रिक संस्कारको पार्टी भएको उल्लेख गर्दै विशेष महाधिवेशन परिवर्तनको बलियो माध्यम बन्न सक्ने बताए। 'यो महाधिवेशनले चाहेमा नीति मात्र होइन, नेता पनि बदल्न सक्छ,'थापाले भने, ''पार्टीलाई समयअनुसार रूपान्तरण गर्न महाधिवेशन निर्णायक हुन्छ।'
थापाको भनाइलाई पार्टीभित्र विचारको राजनीति र नेतृत्वको पुनर्संरचनासँग जोडेर हेरिएको छ। विशेष महाधिवेशनमार्फत कांग्रेसले आफ्नो भावी दिशा, नेतृत्व र नीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।