काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रिय बीमा कम्पनीमार्फत २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको छ ।
आयोगले पुस १३ गते २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीलाई १५ दिनदेखि ९० दिनसम्मको अवधिका लागि बीमा गरेको हो ।
निर्वाचन आयोगले उक्त बीमा गरिएको जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा ब्रिफिङ गर्दै दिएको जनाएको छ।
आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको छ। सामग्री खरिद भने सरकारी निकायबाटै ‘जिटुजी (सरकार–सरकार)’ प्रणालीमार्फत गरिने भएको छ।
जिल्लास्थित निर्वाचन कार्यालयहरूले खरिद गर्ने सामग्री खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका देशभरका कार्यालयमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
हालसम्म ३३ वटा जिल्ला कार्यालयहरूले सो कम्पनीसँग सम्झौता गरिसकेको जानकारी प्रधानमन्त्रीलाई दिइएको छ।