काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा ढुक्क रहन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आवश्यक सुरक्षा र व्यवस्थापकीय प्रबन्ध मिलाइसकेको जानकारी दिँदै ओलीलाई ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गरेकी हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार भेटमा कार्कीले भनिन्, “सरकारले निर्वाचनको राम्रो प्रबन्ध मिलाएको छ, यसमा कुनै शङ्का नगर्नुस् र ढुक्क भएर निर्वाचनमा भाग लिनुस्।”
जवाफमा अध्यक्ष ओलीले निर्वाचनको तयारी, समग्र वातावरण र सुरक्षा अवस्थाबारे चासो राखेका थिए। उनले निर्वाचन उपयुक्त र भयरहित भए आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पारे । साथै ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएको बुझिएको छ ।