काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नमुना मतपत्रको छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा करिब १० लाख नमुना मतपत्र छापिएको हो ।
मतदाता शिक्षा र चुनावी अभ्यासका लागि प्रयोग हुने यी नमुना मतपत्र छपाइ कार्य सम्पन्न भएसँगै निर्वाचनको तयारी थप तीव्र भएको छ ।
आयोगका अनुसार प्रत्यक्षतर्फको नमुना मतपत्र सेतो कागजमा रातो रङ प्रयोग गरेर छापिएको छ भने समानुपातिकतर्फको नमुना मतपत्र सेतो कागजमा कालो रङमा छापिएको छ ।
निर्वाचन आयोगले अब केही दिनभित्रै समानुपातिकतर्फको वास्तविक मतपत्र छपाइ सुरु गरिने जनाएको छ। समानुपातिक प्रणालीअन्तर्गत ६४ राजनीतिक दलका ५८ चुनाव चिह्न मतपत्रमा रहनेछन् ।
समानुपातिकतर्फ मात्रै करिब दुई करोड मतपत्र छापिने आयोगले जनाएको छ ।