काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारी सम्पत्ति जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव नहुने बताएका छन् ।
बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खनालले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरू अपराधी भएको उल्लेख गरे।
उनले ती अपराधीहरू खुलेआम हिँडिरहेको अवस्थामा निष्पक्ष र विश्वसनीय निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाए ।
खनालले अन्तरिम सरकारले अपराधीमाथि के कदम चाल्दैछ भन्ने प्रश्न गर्दै भने- ‘सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन् ? यदि अपराधी हुन् भने सरकारले उनीहरूलाई कारबाही गर्नुपर्दैन ? अपराधीहरू दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ?’
उनले देशलाई निर्वाचन आवश्यक पनि त्यसका लागि आवश्यक पूर्वाधार नबनेको बताए । खनालले सुरक्षासम्बन्धी अवस्था गम्भीर रहेको उल्लेख गर्दै ९० हजार बुलेट अझै फिर्ता नभएको, १२ हजार राइफल कब्जा हुन बाँकी रहेको तथा १४ हजार बन्दीमध्ये ६ हजार अझै नआएको बताए ।