काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन हुँदैछ । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो ।
आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भएरनभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।
आयोगका अनुसार यही पुस २४ गते उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उमेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।