काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३ सय ५५ जनालाई अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये ४५८ वटा प्रमाणपत्रमा कसुर उल्लेख गरी वितरण गरिएको हो । उक्त अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए।
जसमध्ये १ लाख ३० हजार ४ सय २९ आवेदन रद्द भएका छन् भने २ हजार २ सय ६१ आवेदन कार्यान्वयनको क्रममा रहेका छन्। हाल दैनिक ५ हजार ५ सयदेखि ६ हजारसम्म आवेदन प्राप्त हुने र औसतमा ४ हजार ५ सय प्रमाणपत्र दैनिक वितरण भइरहेको प्रहरीको तथ्यांक छ।
वर्तमान समयमा अधिकांश विकसित मुलुकहरूले भिसा प्रदान गर्नुअघि आपराधिक पृष्ठभूमि अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था लागू गरेका छन्। नेपालमा पनि सरकारी तथा निजी संघ–संस्थाहरूले रोजगारी, अध्ययन, छात्रवृत्ति लगायतका प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भने, 'आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन् । जसका कारण उनीहरू रोजगारी वा अन्तर्राष्ट्रिय अवसरबाट वञ्चित हुन सक्छन्। त्यसैले सबै नागरिकले कानुन पालना गर्दै स्वच्छ छवि कायम राख्नु आवश्यक छ।'
नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।