काठमाडौं । सरकारले ‘जेनजी’ सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकबाट जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यस्तै, सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।
समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
नेपाल र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकार, नेपाल र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकार, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ स्वीकार गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले बताए ।
मन्त्रिपरिषद् बैठकबाट वन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकार गरिएको छ ।