धनगढी । जेनजी आन्दोलनका अगुवा पदमराज जोशीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी थालेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा गोपाल हमालको कोर टिममा रहेर काम गरेका जोशीले आगामी फागुन २१ मा हुने निर्वाचनमा कैलाली–५ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।
जेनजी उमेर समूहकै प्रतिनिधित्व गर्ने जोशीले आन्दोलनका मुद्दाहरू अन्य उम्मेदवारबाट प्रभावकारी रूपमा सम्बोधन हुने अवस्था अनिश्चित बन्दै गएपछि ‘जसको मुद्दा, उसकै नेतृत्व’ भन्ने अवधारणासहित अगाडि बढ्ने तयारी गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१० निवासी जोशीले स्थानीय तह निर्वाचन २०७९ मा हालका मेयर गोपाल हमालको कोर टिममा रहेर काम गरेका थिए । त्यस्तै, केही समय मेयर हमालको सचिवालयमा समेत कार्य गरेको अनुभव उनीसँग छ।
भ्रष्टाचार र वेथितीविरुद्ध निरन्तर कडा आवाज उठाउँदै आएका जोशीलाई धनगढीका युवाहरूले स्पष्टवादी र निडर नेतृत्वका रूपमा लिने गरेका छन् ।
उनी विवेकशील साझा पार्टीको युवा संगठनमा प्रदेश सचिवको जिम्मेवारी सम्हालेर काम गरिसकेका छन् । उनले पार्टीबाट की स्वतन्त्र भएर चुनाव लड्ने भन्नेबारे विभिन्न व्यक्तिसँग छलफल गरिरहेको बुझिएको छ ।
कैलाली क्षेत्र नम्बर ५ चर्चित निर्वाचन क्षेत्र हो । यसलाई महत्वका साथ हेरिन्छ । यसपटक पनि कैलाली-५ मा कांग्रेसबाट आरजु राणा देउवा लगायतको चर्चा छ भने एमालेले नारदमुनी राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापतिलाई सिफारिस गरिसकेको छ ।