काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकोविषयमा सरकारलाई अहिलेसम्म औपचारिक जानकारी नआएको बताएका छन्।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले उक्त विषयमा औपचारिक जानकारी प्राप्त भएपछि मात्रै सरकारका तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङले लिनुपर्ने निर्णय स्पष्ट हुने बताए।
उनले सरकारका मन्त्री मात्र नभई कुनै पनि योग्य नागरिकलाई चुनावमा उठ्ने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै, तर पद र शक्तिको दुरुपयोग गर्न नपाइने कुरामा सरकार स्पष्ट रहेको बताए।
मन्त्री खरेलले आफू हाल नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्रीको जिम्मेवारीमा रहेकाले कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको स्पष्ट पारे।
साथै, आगामी निर्वाचनमा उठ्ने वा नउठ्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय नगरेको पनि उनले बताए।