काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपमा बस्नेछ ।
सभापति शेरबहादुर देउवाले निकटस्थ नेताहरूसँग छलफल गरेपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत शुक्रबारका लागि बैठक बोलाइएको जानकारी गराएका हुन्।
विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने देखिएपछि बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका थिए। उनीहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आवश्यक भएको जिकिर गर्दै आएका छन्।
महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र बढ्दो मतभेद र बहसबीच बोलाइएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।