काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले सरकार, राजनीतिक दल, युवा तथा सरोकारवालाबीच निरन्तर संवाद र सहकार्यका कारण निर्वाचन तोकिएकै मितिमा गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।
‘सरकार, राजनीतिक दल तथा युवाहरूसँग निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौँ,’ उनले भनिन्, ‘यसका लागि सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग तथा सरोकारवालाहरुप्रति सरकार आभारी छ।’
प्रधानमन्त्री कार्कीले राजनीतिक परिवर्तनले आम नागरिकको जीविकामा प्रत्यक्ष सुधार ल्याउन नसक्दा ती परिवर्तन दिगो हुन नसकेको टिप्पणी गरिन्।
नेपालले पछिल्ला ७५ वर्षमा आधा दर्जनभन्दा बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भोगे पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ।
‘यस अवधिमा अन्तरिमसहित पाँच पटक संविधान नयाँ बने,’ उनले भनिन्, ‘तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेनन्।’
राजनीतिक परिवर्तन असफल हुनुको मुख्य कारण नागरिकको जीवनस्तरमा सुधार नआउनु रहेको उल्लेख गर्दै उनले पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त सिर्जना हुन नसक्नु, आचरण र व्यवहार न्यायपूर्ण नहुनु नै निराशाको कारण बनेको बताइन्।