Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताको आवाज सुन्ने साहस नै नयाँ राजनीतिको पहिचान हो : अधिवक्ता पन्थी

जनताको आवाज सुन्ने साहस नै नयाँ राजनीतिको पहिचान हो : अधिवक्ता पन्थी

सोमवार , पौष १४, २०८२

काठमाडौं । अधिवक्ता गोविन्द पन्थीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सहकार्यलाई जनअपेक्षाबाट जन्मिएको परिवर्तनको संकेत भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल प्रहरीका पूर्वडीएसपी समेत रहेका पन्थीले यस्तो बताएका हुन् ।

पन्थीका अनुसार बालेन र रविको उदय आकस्मिक नभई दशकौँदेखि जनतामा जम्मा हुँदै आएको आक्रोश, निराशा र विकल्पको खोजको प्रतिफल हो ।

'बालेनको जित कुनै व्यक्तिको मात्र विजय थिएन, त्यो फोहोर, अव्यवस्था, दलाल संस्कृति र सत्ता–सिण्डिकेटविरुद्धको मौन विद्रोह थियो,' उनले भनेका छन्।

मेयरका रूपमा बालेनले देखाएको कानुनको समान प्रयोग, सार्वजनिक सम्पत्तिको संरक्षण र निर्भीक निर्णय क्षमताले उनलाई केवल जनप्रतिनिधि नभई नयाँ राजनीतिक संकेतका रूपमा स्थापित गरेको पन्थीको भनाइ छ।

त्यसैगरी रवि लामिछानेको यात्रा पनि सजिलो नभएको उल्लेख गर्दै उनले भने, 'सञ्चारकर्मीका रूपमा सत्तालाई असहज बनाएका रविले विवादकै बीचबाट जनताको भरोसा बटुले। राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पुराना दलप्रतिको निराशाको प्रत्यक्ष नतिजा हो।'

पन्थीले बालेन र रविबीचको नजिकिँदो सहकार्यलाई कुनै गुप्त सत्तासौदा नभई साझा मूल्य र उद्देश्यको स्वाभाविक मिलनका रूपमा व्याख्या गरेका छन्। भ्रष्टाचारविरुद्ध कठोरता, सुशासनप्रतिको प्रतिबद्धता र परिणाममुखी काममा उनीहरूबीच समानता देखिएको उनको तर्क छ।

उनले नेपाली कांग्रेस र एमालेबीच सम्भावित चुनावी सहकार्यतर्फ संकेत गर्दै विगतमा भागबन्डा र सत्ता केन्द्रित राजनीतिले देशलाई थकित बनाएको स्मरण गराए। “उनीहरू फेरि मिल्नु अधिकार हो, तर मूल्यांकन गर्ने अधिकार जनतासँग छ,” पन्थीले भनेका छन्।

चुनाव समयमै हुनुपर्नेमा जोड दिँदै पन्थीले चुनाव सार्ने प्रयास जनताको आवाज थाति राख्ने काम हुने बताए। 'अब टारटुल होइन, परिणाम चाहियो भन्ने जनभावना स्पष्ट छ,' उनको भनाइ छ।

उनले यो व्यक्तिपूजाको राजनीति नभई मूल्यको गठबन्धन भएको उल्लेख गर्दै इमानदार, उत्तरदायी र कम भ्रष्ट प्रवृत्तिका शक्तिहरू एक ठाउँमा आउनु समयको माग भएको बताए।

'परिवर्तनले गति लिँदा प्रतिरोध स्वाभाविक हुन्छ। आलोचना, आरोप र चरित्रहत्या बढ्छन्,' पन्थीले भने, 'तर प्रश्न यो हो— त्यसलाई सामना गर्ने साहस र धैर्य छ कि छैन ?'

उनका अनुसार यदि बालेनले आफ्नो निर्भीकता कायम राखे, रविले संगठन र जनसम्पर्कलाई अझ जिम्मेवार बनाए, र दुवैले सत्ताभन्दा प्रणाली परिवर्तनलाई प्राथमिकता दिए भने यो यात्रा चुनाव जित्नेमै सीमित नरही देशको राजनीतिक दिशा मोड्ने यात्रामा बदलिन सक्छ।

अन्त्यमा उनले भने, 'फैसला गर्ने जनता नै हुन्। जनता चुप छैनन्— उनीहरू हेरिरहेका छन्, तुलना गरिरहेका छन् र निर्णय गर्ने तयारीमा छन्। त्यसैले डर होइन भरोसा, भ्रम होइन स्पष्टता र ढिलाइ होइन, समयमै चुनाव नै जनभावनाको सच्चा कदर हुनेछ ।'

अधिवक्ता पन्थी अनुसन्धानमा उत्कृष्ट भन्दै अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त र सिआइबीको स्थापना हुन योगदान गरेका अधिकारी समेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077